गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी
पोखरा । गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
प्रदेशको वागलुङ जिल्लामा थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले पोखरा न्यूजलाई जानकारी दिए । भारतबाट आएर क्वारेन्टिनमा बसेका वागलुङ बडीगाढ र तमानखोलाका ६ जनामा कोरोना सक्रमण पुष्टी भएको हो ।
बागलुङ, बडीगाढ गाउँपालिकाको क्वारेन्टिनमा रहेका बर्ष १९ र २० का २ जना पुरुष तथा तमनखोला गाउँपालिकाको क्वारेन्टिनमा रहेका २१ बर्षका २ जना र २७ वर्षका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको निर्देशक डा. शर्माले जानकारी दिए ।
उनीहरु सबैजनालाई सदरमुकाम बागलुङ स्थित सरकारी अस्पतालमा ल्याउने तयारी भइरहेको छ । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।
गण्डकी प्रदेशको स्याङजामा हिजो मात्र २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतबाट जेठ १० गते आएका वालिङ नगरपालिका -७ का २० र २९ वर्षीय संक्रमित पुरुषहरुको जिल्ला अस्पताल स्याङ्जाको आइसाेलेसन कक्षमा उपचार भइरहेको छ ।
बागलुङमा यस अघि भेटिएका २ जना संक्रमित उपचारपछि घर फर्कीसकेका छन् भने नवलपुरका २ जना उपचाररत रहेको छन् । यस अघि संक्रमित एक जना लमजुङका भनिएका बालक भने धादिङ् जिल्लाका भएको बताइएको छ ।
Comments