ओली सरकारको ऐतिहासिक निर्णय, लिम्पियाधुरासहितको नेपालको नक्सा जारी
५ जेठ, काठमाडौँ । सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा जारी गरेको छ । सोमबार साँझ आकस्मिक रूपमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नेपालको नयाँ नक्सा जारी गरेको हो । नयाँ नक्सामा भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एक इन्च भूमि पनि कसैले अतिक्रमण गर्न नपाउनै भन्दै पूर्खाले लडेर रक्षा गरेको भूमिको संरक्षण गर्ने बताउँदै आएका थिए । आइतबरकै मन्त्रिपरिषदको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले प्रस्ताव लगेकी थिइन । महत्वपूर्ण मानिएको प्रस्तावमा सोमबारको बैठकमा छलफल गरेर जारी गरिएको हो । नयाँ नक्सा आजैबाट प्रयोगमा आएको छ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले नक्सा अब सबैखालको प्रशासनिक प्रयोगमा ल्याउने जानकारी दिनुभएको छ । उहाँले सोमबार मन्त्रालयमा मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अब सबैखालको प्रयोगमा नयाँ नक्सा आउने बताउनुभयो ।
Comments